प्रहार समाचार । तनहुँ, १२ साउन २०८२ सोमवार । तनहुँको म्याग्दे गाउँपालिकाले सूचना प्रवाह, विकास गतिविधि प्रचार–प्रसार तथा असल अभ्यास उजागर गर्ने कार्यमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार राजकुमार श्रेष्ठ (बि.बि.)लाई नगदसहित सम्मान गरेको छ। श्रेष्ठ विश्वभूमि डट कमका प्रधान सम्पादक तथा प्रेस चौतारी तनहुँका अध्यक्ष समेत हुन् ।

गाउँपालिकामा आज आयोजित एक कार्यक्रममा श्रेष्ठलाई नगद १० हजार सहित सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको हो। गाउँपालिकाले आत्मनिर्भर, समृद्ध म्याग्दे निर्माणको यात्रामा सञ्चार क्षेत्रको सकारात्मक भूमिकालाई सम्मान गर्दै श्रेष्ठको उत्तरदायी रचनात्मक पत्रकारितालाई उदाहरणीय योगदानका रूपमा उल्लेख गरेको छ।

कार्यक्रममा जिल्ला समन्वाय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, पालिकाक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले संयुक्त रूपमा सम्मानित गरेका थिए । सम्मानित श्रेष्ठले पालिकाबाट प्राप्त यो सम्मानले थप जिम्मेवारीबोध गराएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ बढी निष्ठा, निष्पक्षता र सेवामूलक भावनाका साथ जनपक्षीय पत्रकारितामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।























