प्रहार समाचार । तनहुँ, १२ साउन २०८२ सोमवार । तनहुँको आआँबुखैरेनी गाउँपालिकामा अब चाँडै १५ शैयाको अस्पताल निर्माण कार्य अघि बढ्ने भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल असार २ गतेको निर्णयअनुसार अस्पताल निर्माण प्रयोजनका लागि ३१ रोपनी बढि सार्वजनिक जग्गा प्रयोग गर्न दिने प्रमाणपत्र गाउँपालिकालाई प्रदान गरिएको छ।

भूमि सम्बन्धी ऐन २०२१ को दफा ५९ (क) बमोजिम अस्पताल स्तरोन्नतिको उद्देश्यले सार्वजनिक जग्गा उपलब्ध गराइएको हो। मालपोत कार्यालय तनहुँबाट २०८२ साल साउन १२ गते जारी गरिएको प्रमाणपत्र अनुसार गाउँपालिका–१ स्थित पृथ्वीराजमार्ग नजिककै कित्ता नं. १००२ को ३१-२-१-१ भागअन्तर्गत रहेको सार्वजनिक गौचर जमीन अस्पताल निर्माणका लागि प्रयोग गर्न पाइनेछ।

नेपाल सरकारको नाममा कायम रहेको उक्त जग्गा ‘सत्रसय आधारभूत स्वास्थ्य केन्द्र’लाई स्तरोन्नति गर्दै आधुनिक १५ शैयाको अस्पताल निर्माणको प्रयोजनमा मात्र प्रयोग गर्न स्वीकृति दिइएको हो । छ

यस कार्यका लागि आवश्यक प्रशासनिक सहजीकरण गरिदिएकोमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नेपाल सरकार, मालपोत कार्यालय तनहुँप्रति आभार प्रकट गरेका छन् ।


























