हेडलाईनसमाचारप्रदेश

आज नेरेसो रक्तसञ्चार सेवाको ६०औं स्थापना दिवस : देशभर विविध कार्यक्रमसहित मनाइँदै

प्रहार समाचार । काठमाडौं, १२ साउन २०८२ सोमवार । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को रक्तसञ्चार सेवा आज ६०औं स्थापना दिवस विविध कार्यक्रमसहित देशभर मनाइने भएको छ। विसं २०२३ साल साउन १२ गते स्थापना भएको रक्तसञ्चार सेवाले यो वर्ष सेवा स्थापनाको ६ दशक पार गरेको अवसरमा रक्तदान कार्यक्रम, नियमित स्वयंसेवी रक्तदाताहरुको सम्मान तथा वार्षिक प्रतिवेदन सार्वजनिकजस्ता कार्यक्रम आयोजना गरिएको हो।

काठमाडौंस्थित केन्द्रीय रक्तसञ्चार सेवादेखि देशका विभिन्न जिल्ला शाखासम्म विविध कार्यक्रम सञ्चालन भएको नेरेसोले जनाएको छ। “रक्तदान–जीवनदान” नारालाई आत्मसात् गर्दै सेवा सञ्चालन गरिँदै आएकोमा अहिले देशभर ८० भन्दा बढी सेवा केन्द्रमार्फत सुरक्षित र गुणस्तरीय रगतको सेवा प्रदान गरिँदै आएको छ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष, पदाधिकारी, कर्मचारी, स्वयंसेवक तथा दाताहरुको उपस्थिति रहेको आजको कार्यक्रममा विगत वर्ष रक्तदान अभियानमा सक्रिय संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा मानव जीवन बचाउनको लागि रगतदान गर्न प्रेरित गर्दै स्वेच्छिक रक्तदानलाई अझ प्रभावकारी बनाउनका लागि आगामी दिनमा समेत सहकार्य र समर्पण आवश्यक रहेको विचार व्यक्त गरिएको थियो।

रक्तसञ्चार सेवाको स्थापनाले नेपालमा सुरक्षित र व्यवस्थित रक्त आपूर्तिको नयाँ युगको थालनी भएको मानिन्छ। वर्षौंदेखि नियमित रक्तदान गर्दै आएका स्वयंसेवक रक्तदातालाई ‘रक्त जीवनदाताको पर्याय’ भन्दै आयोजकहरूले धन्यवाद ज्ञापन गरेका थिए।

नेरेसोले एक विज्ञप्तिमार्फत दिवसका अवसरमा स्वयंसेवी रक्तदाता, रक्तदान आयोजना गर्ने संघसंस्था तथा रगत आवश्यक पर्ने विरामीको जीवन बचाउने यस महान कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैमा आभार प्रकट गर्दै निरन्तर साथ र हातेमालोको अपेक्षा गरेको छ। ‘रगत नपाएर कोही मर्नु नपरोस्’ भन्ने मूल लक्ष्यका साथ अगाडि बढेको नेपाल रेडक्रस रक्तसञ्चार सेवा आज देशकै भरपर्दो रगत आपूर्ति केन्द्रको रूपमा स्थापित भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button