प्रहार समाचार । काठमाडौँ, १२ साउन २०८२ सोमवार । देशभर साउनको मध्यतिर पुग्दासम्म धान रोपाइँमा सुस्ती देखिएको छ। गत वर्षको तुलनामा यो वर्ष रोपाइँ ढिलो हुनुको प्रमुख कारण समयमै मनसुन सक्रिय नहुनु र अधिकांश क्षेत्र पानीको भरमा निर्भर हुनु हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म (साउन १२ सम्म) कुल खेतीयोग्य जमिनमध्ये ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपिएको छ। यो आँकडा गत वर्षको यही मितिमा ९२.६ प्रतिशत थियो। तस्बिरहरु : सामाजिक संञ्जाल

प्रदेशगत विवरण हेर्दा सबैभन्दा अगाडि सुदूरपश्चिम प्रदेश देखिन्छ, जहाँ ९८.९४ प्रतिशत रोपाइँ भइसकेको छ। यसपछि लुम्बिनी प्रदेश ९२.०४ प्रतिशत र कर्णाली प्रदेश ९१.३८ प्रतिशत रोपाइँसहित अग्रस्थानमा छन्। वाग्मतीमा ८७.१९ प्रतिशत र कोशीमा ८०.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ।

तर, गण्डकी प्रदेशको अवस्था निकै चिन्ताजनक छ, जहाँ हालसम्म जम्मा ८.५३ प्रतिशतमा मात्रै धान रोपिएको छ। मधेश प्रदेशमा पनि रोपाइँको गति निकै सुस्त छ, कुल ५१.८२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। यी दुबै प्रदेशमा सिँचाइको सुविधा सीमित हुनु र मनसुनले अपेक्षित वर्षा नगर्नु प्रमुख कारणका रूपमा देखिएका छन्।

मौसमविद्हरूका अनुसार, यो वर्ष मनसुन ढिलो सुरु भएको थियो र देशभर समान रूपमा वर्षा हुन सकेन। कतै भारी वर्षा देखिएको छ भने कतै खडेरीको अवस्था रहेको छ। कृषि विज्ञहरू भन्छन्— रोपाइँ ढिलो हुँदा बिउ अंकुरिन ढिला हुन्छ र समयमै फलिफाप नहुँदा उत्पादनमा गिरावट आउन सक्छ।

अबको केही साताभित्र रोपाइँ पूरा नभएमा आगामी बाली चक्रमै असर पर्ने देखिन्छ। सरकारलाई दीर्घकालीन सिँचाइ पूर्वाधारको विकास र मौसम जानकारी प्रवाहको संयन्त्र मजबुत बनाउनु अपरिहार्य देखिन्छ।



























