प्रहार समाचार । चितवन, ११ साउन २०८२ आइतवार । गण्डकी प्रदेशका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको निधन भएको छ। उनको अन्त्येष्टि आज देवघाटमा गुरूङ समुदायको परम्परा अनुसार गरिएको छ। अन्तिम संस्कारअघि धर्मगुरूहरुमार्फत कर्म गरिएपछि सशस्त्र प्रहरी बलले सलामी अर्पण गरी श्रद्धाञ्जली प्रदान गरेको थियो ।

शनिबार ७६ वर्षको उमेरमा भरतपुर–२६, दिव्यनगरस्थित आफ्नै निवासमा निधन भएका गुरूङको पार्थिव शरीरमा नेपाली कांग्रेसले दिव्यनगरस्थित निवासमा श्रद्धाञ्जली अर्पण गरेको थियो। श्रद्धाञ्जलीका लागि कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन पुगेका थिए। कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जली कार्यक्रमपछि देवघाटमा अन्त्येष्टि गरिएको हो ।

२००६ सालमा कास्कीको ल्वाङघलेलमा जन्मिएका गुरूङ लामो समयदेखि क्यान्सरबाट पीडित थिए। उनी २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेश प्रमुखको रूपमा निष्पक्ष र सन्तुलित भूमिकामा रहेका थिए। उनको निधनप्रति शोक व्यक्त गर्दै कांग्रेस चितवनले तीन दिनसम्म जिल्ला र वडा कार्यालयहरू बन्द गर्ने र सात दिन पार्टी झन्डा आधा झुकाउने निर्णय गरेको छ।


























