• सुशिल लामगादे बि.क. (प्रहार संवाददाता) तनहुँ, १० साउन २०८२ शनिवार । तनहुँको व्यास–१, भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयमा लियो जिल्ला परिषद् ३२५ एल नेपाल अन्तर्गत गण्डकी क्षेत्रको आयोजना र लियो क्लब अफ तनहुँको संयोजनमा क्लब अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले लियो र लायन्स क्लब तनहुँमा स्थापना हुँदाको समय र अहिलेका क्लबहरुले समाजमा दिदै आएको सेवा र नेतृत्व बिकासमा खेलेको भुमिकाको बारेमा तुलना गरे । सदस्य श्रेष्ठले लायन्स र लियो क्लब र एउटै संस्था भएको र दुबैले समाजमा जहाँ आवश्यकता त्यहाँ सेवा प्रदान गर्ने संस्था रहेको उल्लेख गरे।

त्यस अवसरमा लियो जिल्ला अध्यक्ष, लियो बहुजिल्ला ३२५ नेपालका अध्यक्ष र निवर्तमान अध्यक्ष, लियो क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरू, डिस्ट्रिक्ट टिम, कोअर्डिनेटरहरू, विभागीय संयोजक तथा विभिन्न लियो क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्षहरू को उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लब सञ्चालन सम्बन्धी तालिम, दायित्व हस्तान्तरण, नेतृत्व विकास, समन्वयात्मक कार्यशैली र सेवा भावको विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो। यस्ता कार्यक्रमले आगामी कार्यकालका लागि लियो अफिसरहरूलाई नेतृत्वदायी भूमिकामा सजग र सक्षम बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम लायन वर्ष २०२५/२६का लागि आयोजना गरिएको हो, जसमा गण्डकी क्षेत्रका विभिन्न लियो क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम लियो जिल्ला परिषद् ३२५ एल नेपालका प्रशिक्षण कोइडिनेटरका अध्यक्ष लियो कुशल लाम्सालको अध्यक्षता सम्पन्न भएको थियो ।


























