हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारस्वास्थ्य

डिजिटल स्वास्थ्य रूपान्तरणमा नेपाल अगाडि : मन्त्री पौडेलको एसिया स्वास्थ्य फोरममा प्रतिबद्धता

प्रहार समाचार । चीन, १० साउन २०८२ शनिवार । नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरमअन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सहभागी भई डिजिटल स्वास्थ्य प्रवर्द्धन र नवप्रवर्तनमार्फत स्वास्थ्य प्रणाली सुदृढीकरणका विषयमा नेपालको प्रतिबद्धता सार्वजनिक गरेका छन्।

“नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य” शीर्षक सत्रमा सम्बोधन गर्दै उनले नेपालले डिजिटल स्वास्थ्य रूपान्तरण रणनीति कार्यान्वयनमा सक्रिय भूमिका खेलिरहेको र यसबाट स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा सुधार भइरहेको उल्लेख गरे।

मन्त्री पौडेलले आधुनिक प्रविधिको प्रयोगले उपचार लागत घटाउने, रोग निदानमा सटीकता ल्याउने, प्रणाली व्यवस्थापन सुदृढ गर्ने तथा जोखिम नक्साङ्कनमा सहुलियत पुर्‍याउने बताए। स्वास्थ्य सेवाबाट बञ्चित वर्गलाई केन्द्रमा राखी काम भइरहेको जानकारी दिंदै उनले एसियाली मुलुकहरूसँग सहकार्य गर्दै समग्र क्षेत्रीय स्वास्थ्य सुदृढीकरणमा नेपाल तयार रहेको सन्देश दिए। फोरमको अर्को सत्रमा जलवायु परिवर्तनको स्वास्थ्य प्रभावबारे बोल्दै उनले नेपालमा जलवायु जन्य स्वास्थ्य संकटबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने घोषणा गरे।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले चिनियाँ राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग द्विपक्षीय भेट गर्दै हेटौंडामा भेक्टरजन्य रोग अनुसन्धान केन्द्रका लागि सहयोगको आग्रह गरे। बेइजिङस्थित नेपाली दूतावासका अनुसार सरकारी अस्पतालमा न्यूरो उपचार केन्द्र स्थापनालगायत विषयमा पनि छलफल भएको थियो। मन्त्री पौडेलले बेइजिङस्थित नेपाली समुदायसँग भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीप नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आग्रह गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button