प्रहार समाचार । तनहुँ, १० साउन २०८२ शनिवार । संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका तनहुँका उत्कृष्ट गायक सञ्जीव सिंह रानाले आफ्नो सांगीतिक प्रतिभाबाट पुनः एक पटक ठूलो सफलता हात पारेका छन्। प्रियासी म्युजिक प्रा.लि.को आयोजनामा हिंजो सम्पन्न ‘चौथो सिल्भर म्युजिक अवार्ड २०८१’ मा गायक रानालाई ‘उत्कृष्ट पप डान्सिङ गीत गायक’ को विधामा सम्मानित गरिएको छ।

उक्त अवार्ड चलचित्र विकास बोर्ड, काठमाडौंमा भएको एक कार्यक्रमका बिच थ रानाले गाएको ‘तिम्रो प्रोफाइल’ गीतका लागि यो सम्मान प्रदान गरिएको हो। यस गीतमा उनको गायनशैली, भावपूर्ण प्रस्तुति र ऊर्जा–सञ्चारित स्वरले दर्शक तथा समिक्षकहरूको ध्यान आकर्षित गरेको थियो।
गायक रानालाई उक्त अवार्ड प्रदान गर्दै कार्यक्रम निर्देशक तथा लोकप्रिय गीतकार राजेन्द्र पुरी र कार्यक्रम अध्यक्ष तथा चर्चित भिडियो निर्देशक बबिता श्रेष्ठले उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

“सङ्गीत मेरो जीवन हो। म सधैं मेहनतलाई प्राथमिकता दिन्छु। यो सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ,” पुरस्कार ग्रहणपछि प्रहार समाचारसंग संक्षिप्त प्रतिक्रिया दिँदै रानाले भने, “श्रोताहरूको माया नै मेरो प्रेरणा हो।”
सञ्जीव सिंह राना हाल नेपाली संगीत क्षेत्रका उदाउँदा कलाकारका रूपमा स्थापित हुँदै आएका छन्। उनले पछिल्लो समय लगातार नयाँ शैली र प्रयोगात्मक गीतमार्फत चर्चामा रहँदै आएका छन्।

प्रियासी म्युजिक प्रा.लिले प्रत्येक वर्ष प्रतिभावान कलाकारहरूलाई सम्मान गर्दै आएको ‘सिल्भर म्युजिक अवार्ड’ यस वर्ष चौथो संस्करणमा प्रवेश गरेको हो।


























