हेडलाईनसमाचारगण्डकी

गण्डकी प्रदेशमा गुरुङ – मगर भाषालाई मान्यता : लमजुङमा दीपावली र ठाडोभाकाको रंगीन उत्सव

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, १० साउन २०८२ शनिवार । गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएपछि लमजुङको सदरमुकाम बेसीशहरमा दीपावली र ठाडोभाकासहित रंगीन सांस्कृतिक उत्सव मनाइएको छ।

गुरुङ र मगर भाषालाई नेपाली भाषासरह सरकारी कामकाजी भाषाका रूपमा मान्यता दिएको खुशीमा शुक्रबार साँझ लमजुङको बेसीशहरस्थित भीमसेनस्थान चोक दीपावलीको उज्यालोमा नुहाएको थियो।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा अर्थ मामिला मन्त्री डा. टकराज गुरुङले सरकारले संविधानको मर्मअनुसार भाषा संरक्षण तथा प्रवर्द्धनमा अग्रसर भएको दाबी गरे ।

मन्त्री गुरुङले चालु आर्थिक वर्षदेखि सरकारी कागजात तथा पत्राचारमा नेपालीसँगै गुरुङ र मगर भाषाको प्रयोग हुने जानकारी दिए। “सबै भाषाको सम्मान र संरक्षण सरकारको दायित्व हो,” उनले भने, “गुरुङ र मगर भाषालाई मान्यता दिइँदा अन्य भाषाको अस्तित्व मेटिने होइन, संरक्षण अझ बलियो हुन्छ।” उनले थपे ।

उक्त अवसरमा कार्यक्रम आयोजक पुरानोकोट जलदेवी तमु समाजको तर्फबाट मन्त्री गुरुङलाई सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानपत्र समाजकी अध्यक्ष आशकुमारी गुरुङले हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा बेसीशहर नगरपालिका–८ की वडाअध्यक्ष पवित्रा थापा रानाले भाषिक अधिकारको संरक्षणले मात्र संस्कार, संस्कृति र पहिचान जोगिन सक्ने बताउँदै विविध भाषाको सम्मानमा सबै जुट्नुपर्नेमा जोड दिइन्।

दीपावलीसँगै लमजुङको मौलिक सांस्कृतिक पहिचान ठाडोभाकाको झल्को दिने प्रस्तुति पनि कार्यक्रमको आकर्षण बन्यो। ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक तथा ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, गायिका बुद्धिमाया गुरुङ, मीना, सीता, सुस्मिता र बुद्धकाशी गुरुङको टोलीले ठाडोभाका प्रस्तुत गर्दा उपस्थित जनसमुदाय मन्त्रमुग्ध भएको थियो। सांस्कृतिक प्रस्तुति दौरान मन्त्री गुरुङ पनि नाचेका थिए।

कार्यक्रमको अध्यक्षता तमु समाजकी अध्यक्ष आशकुमारी गुरुङले गरेकी थिइन् भने सहजीकरण समाजकै बाबा समूहका अध्यक्ष टसबहादुर गुरुङले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button