
सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार, काठमाडौं, नेपाल ।
विषय: विदेशमा समस्यामा परेकी तनहुँ जिल्लाकी चेली संगीता थापाको शीघ्र उद्धारका लागि अनुरोध।
श्रीमान्,
हालका दिनहरूमा “भिजिट भिसा” को नाममा नेपाली नागरिकहरूलाई तेस्रो मुलुकहरूमा पठाएर केही एजेन्टहरू र तिनका संरक्षकहरूले मुनाफा कमाइरहेको कुरा लुकाइएको छैन। यस्तो प्रवृत्तिका कारण विशेषगरी नेपाली चेलीबेटीहरू ठूलो शोषणको शिकार भइरहेका छन्। जबसम्म यस्ता समस्या सम्बन्धित निकाय वा जिम्मेवार निकायका आफ्नै परिवार र आफन्तमा पर्दैन, तबसम्म उनीहरूको संवेदनशीलता कमजोर देखिन्छ।
यही सन्दर्भमा, हाल तनहुँ जिल्लाकी चेली संगीता थापा कुवेतमा गम्भीर रूपमा अलपत्र अवस्थामा पुगेकी दुःखद जानकारी सार्वजनिक भएको छ। उनको तत्काल उद्धारको आवश्यकता छ र यसले समस्त तनहुँबासी तथा आम नेपाली नागरिकको ध्यान आकृष्ट गराएको छ।
अतः, नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास तथा सम्बन्धित निकायहरूलाई निम्न बुँदाहरूमा हाम्रो अपिल छ–
१. संगीता थापाको शीघ्र उद्धारका लागि तुरुन्त पहल गरियोस्।
२. भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र शोषण रोक्न दीर्घकालीन नीति तथा कडा कार्यान्वयन व्यवस्था लागू गरियोस्।
३. विदेशमा समस्यामा परेका नेपालीहरूका लागि आपतकालीन सहायता केन्द्र तथा सम्पर्क संयन्त्र प्रभावकारी रूपमा संचालन गरियोस्।
४. मानव तस्कर तथा दलालहरूलाई कडा कानुनी कारबाही गरियोस् र पीडितहरूलाई न्याय दिलाइयोस्।
यस सन्दर्भमा तनहुँबासी, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता पत्रकार तथा आम नेपाली नागरिकहरूले सामाजिक सञ्जाल र अन्य माध्यमबाट सन्देश तथा भिडियोमार्फत जनदबाब सिर्जना गरिरहेका छन्। यो आवाज नेपाल सरकारसमक्ष पुगी, आवश्यक र प्रभावकारी कारबाही होस् भन्ने हाम्रो गम्भीर अपेक्षा छ।
सधैं जनताको हितमा अग्रसर रहनुभएकोमा विश्वास गर्दै,
तपाईंको तत्काल ध्यानाकर्षणको अपेक्षा गर्दछौं।
धन्यवाद।
भवदीय,
दीपकराज जोशी
वडानं.–२, व्यास नगरपालिका
दमौली, तनहुँ ।


























