प्रहार समाचार । तनहुँ, ९ साउन २०८२ शुक्रवार । प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयनको अनुगमनमा निस्किएको व्यास नगरपालिकाको टोलीमाथि व्यापारीहरूले गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् । अनुगमन टोलीलाई अवहेलना गर्दै अभद्र व्यवहार गर्ने तीन जना व्यापारीलाई पक्राउ गरिएपछि पाँच दिनको म्याद थप गरिएको छ। त्यस्तै पसलमा ताला लगाइएको छ।

व्यास नगरपालिका–३ स्थित पिन्टु (काले) किराना पसलका सञ्चालक जवाहित साह, मायादेवी साह र राजु साहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको हो। जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहार मुद्दामा उनीहरूका लागि म्याद थपिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
बुधबार नगरपालिका वन तथा वातावरण समितिका संयोजक रनसिंह नेपालीको नेतृत्वमा प्लास्टिक झोला अनुगमन गर्न पुगेको टोलीमाथि ती व्यापारीहरूले कठोर शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। त्यसपछि बिहीबार नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो भने पिन्टु किराना पसल समेत तत्कालै बन्द गराइएको थियो।

नगरपालिकाले प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयनमा कठोरता अपनाइरहेको बेला सार्वजनिक कर्मचारीमाथि गरिएको यस्तो व्यवहारलाई गम्भीर रूपमा लिएको जनाइएको छ। अनुगमनमा अवरोध सिर्जना गर्नु र कर्मचारीमाथि दुर्व्यवहार गर्नु आपराधिक कार्य भएको भन्दै नगरपालिका प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको छ।


























