हेडलाईनसमाचारगण्डकी

लमजुङको सर्वोदय सेवाश्रमको २३ औं वार्षिकोत्सव : धर्म, सेवा र समर्पणको समन्वय

• विजय अधिकारी प्रहार संवाददाता ) लमजुङ, ९ साउन ८ २०८२ शुक्रवार । लमजुङको राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाश्रमको २३ औं स्थापना दिवस विविध धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिका साथ सम्पन्न भएको छ। गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न कार्यक्रममा समाजसेवा र धर्म संस्कृतिको संगम झल्किएको थियो।

कार्यक्रमको प्रारम्भमा मन्त्री पौडेलले सेवाश्रमको प्रांगणमा आयुर्वेदिक तथा धार्मिक महत्व बोकेको सीता अशोकको विरुवा रोपण गर्दै वातावरणीय सन्देश दिएका थिए। कार्यक्रममा मन्त्सी पौडेलले ‘धर्मनाथ धाम’ निर्माण गरी समाजसेवामा पुर्‍याएको योगदानलाई ऐतिहासिक उपलब्धि भन्दै प्रशंसा गरे। “पुर्खाले छोडेको सेवा संस्कार आज पनि हाम्रो मूल्य र चेतनाको केन्द्र हो,” मन्त्री पौडेलले भने, “मानव सेवाको मार्गमा सर्वोदय सेवाश्रमले उज्यालो नक्षत्रको जस्तै काम गरिरहेको छ।”

कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, राष्ट्रिय जेष्ठ नागरिक समाजका महासचिव मोहनलाल श्रेष्ठ, एमाले नगर सचिव आनन्द त्रिपाठी, वडाध्यक्ष शंखबहादुर नेपाली, विश्व हिन्दू महासंघका प्रतिनिधि कमल अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

आर्थिक पारदर्शिता र भावी योजना सार्वजनिक :

आश्रमका कोषाध्यक्ष भूमिनन्द तिमिल्सिनाले आश्रमको आर्थिक विवरण प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्षमा कूल १ करोड १३ लाख ७२ हजार ८५७ रुपैयाँ खर्च भएको जानकारी दिए। निर्माणतर्फ अनुदान अपुग भएकाले सञ्चित कोषबाट सापटी लिइएको र व्यवस्थापनतर्फ १२ लाख ५६ हजार रुपैयाँ खर्च गरिएको बताइयो। आश्रममा दुई वटा राष्ट्रिय पुरस्कारको अक्षयकोषमा १० लाख १० हजार रुपैयाँ तथा अन्य सञ्चित कोषमा ४ लाख ५५ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ।

लेखापाल विजय मिश्रले आश्रममा हाल ५ जना कर्मचारी कार्यरत रहेको जानकारी दिँदै तलबभत्ता, यातायात लगायतमा ९ लाख ८२ हजार रुपैयाँ खर्च भएको बताए। आश्रमले आन्तरिक दातव्य र दानमार्फत ३९ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको र सम्पत्ति खरिदमा २ लाख ३२ हजार रुपैयाँ खर्च भएको जानकारी पनि दिइयो।

“धर्मनाथ धाम” को सफलता :

आश्रम अध्यक्ष कृष्णराज ओलियाले सामान्य अवस्थाबाट सुरु गरिएको आश्रम अहिले धर्मनाथ धामको रुपमा स्थापित हुनु सबै लमजुङवासीको साझा योगदान भएको बताए। उनले आश्रमको भावी योजनाहरू प्रस्तुत गर्दै सेवा, सद्भाव र समर्पणको माध्यमबाट थप परिमार्जित सेवा केन्द्र बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख मनोज पण्डे, काँग्रेस नेता गोविन्दप्रसाद धिताल लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा समाजसेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। उपाध्यक्ष सुकदेव रिसालले स्वागत मन्तव्य राखेका थिए भने व्यवस्थापक लक्ष्मीप्रसाद मिश्रले कार्यक्रमको सहजिकरण गरेका थिए।

धार्मिक भावना, सामाजिक उत्तरदायित्व र सेवा मूलक प्रतिबद्धताको समन्वयमा सञ्चालन भएको सर्वोदय सेवाश्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दै गएको देखिन्छ ।मानव सेवा, सहारा र आत्मीयताको प्रतीक बनेको यो संस्था भविष्यमा अझ प्रभावकारी सामाजिक केन्द्रको रुपमा स्थापित हुने संकेत देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button