प्रहार समाचार । काठमाडौँ, ८ साउन २०८२ बिहिवार । देशभर हाल मनसुनी प्रणाली कमजोर देखिएको अवस्थामा पनि केही स्थानमा वर्षाको गतिविधि सक्रिय देखिएको छ। गएराति देशका केही ठाउँमा सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै पानी पश्चिम रुकुममा परेको छ भने अहिले बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने बिहानैदेखि घाम लागेको छ र केही दिनयता यहाँ ठूलो वर्षा भएको छैन।

आज दिउँसो देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने भएकाले मौसम परिवर्तनप्रति सचेत रहन आग्रह गरिएको छ।
भारी वर्षाको सम्भावित क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर सरेकोले देशभर यसको प्रभाव कमजोर देखिए पनि स्थानीय मौसमी प्रणालीको कारण केही स्थानमा असिनासहितको वर्षा हुन सक्ने अवस्था रहेको विज्ञहरू बताउँछन्। मौसमसँग जोडिएको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सूचनाको सक्रिय प्रयोग गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ।

























