• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ७ साउन २०८२ बुधवार । लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरमा यही साउन ९ गतेदेखि २१ गतेसम्म शिवपुराण वोलबम महोत्सव–२०८२ हुने भएको छ। धार्मिक आस्था, संस्कृति संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शिवजी गुठी संरक्षण समितिले महोत्सवको आयोजना गर्न लागेको हो।

महोत्सवबारे जानकारी दिन सुन्दरबजारमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा शिवजी गुठी संरक्षण समितिका अध्यक्ष आनन्दलाल श्रेष्ठले प्रसिद्ध कथा वाचक पण्डित नारायण न्यौपाने (आमा आश्रम, संरक्षक) को मुखारविन्दबाट १३ दिनसम्म शिवपुराण कथा वाचन गरिने जानकारी दिए।
कथासँगै संगीतमय भजन–कीर्तन, धार्मिक झाँकी प्रदर्शन, देव लीला, मण्डप पूजा, हवन, रुद्री, चण्डीपाठ, पितृ उद्धार पूजा लगायतका विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन गरिने समितिले जनाएको छ।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्ने तय गरिएको छ। उद्घाटन दिन साउन ९ गते बिहान ८ः३० बजे भव्य कलश यात्रा निकालिनेछ भने ११ः३० बजे शिवपुराण कथा वाचन तथा वोलबम महोत्सवको औपचारिक समुद्घाटन गरिनेछ। सोही दिन शिवमन्दिर परिसरमा गणेश र शिवको मूर्ति स्थापनासमेत गरिनेछ।
सचिव सुरेन्द्र पौडेलका अनुसार, समितिका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा १०० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न ६ वटा उपसमितिहरू गठन गरिएको छ। समितिका सह–संयोजकमा सुरेन्द्र घिमिरे र गोबिन्द गुरुङ रहेका छन्।
प्रत्येक दिन बिहान ७ः३० देखि ९ः०० बजेसम्म धार्मिक अनुष्ठानहरू र १०ः३० बजेपछि कथावाचन, भजन, कीर्तन तथा देव लीलासहितको झाँकी प्रदर्शन गरिनेछ। साँझ ७ बजेदेखि ९ बजेसम्म विशेष भजन सन्ध्या सञ्चालन गरिने कार्यक्रम छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा श्रावण २१ गते साँझ ५ बजेदेखि सवा लाख बत्ति प्रज्वलन गरिनेछ। पितृ उद्धारको भावनासहित आयोजना हुने दीप प्रज्वलन कार्यक्रममा श्रद्धालुहरूले आ–आफ्नो घरबाट बत्ति ल्याई सहभागी हुन सक्ने संयोजक गोबिन्द गुरुङले जानकारी दिए।

महोत्सवमा सहयोग गर्ने दातामध्ये ५ हजार वा सोभन्दा बढी सहयोग गर्ने व्यक्तिलाई आजीवन सदस्यता प्रदान गरिनेछ भने र १०,००० वा सोभन्दा बढी सहयोग गर्ने दाताको नाम शिवमन्दिर परिसरमा शिलालेखमा उल्लेख गरिने समितिले जनाएको छ।
कार्यक्रमको संरक्षकमा सुन्दरबजार नगरपालिका, सह–संरक्षकमा नगरपालिकाका सबै वडा कार्यालयहरू रहेका छन्। सह–आयोजकमा महायज्ञ मूल आयोजक समिति, सम्पूर्ण भजन मण्डली, आमा समूह र टोल सुधार समितिहरू रहेका छन्।
महोत्सव स्थल बरेटार शिवमन्दिर, लमजुङ क्याम्पस गेट अगाडि रहेको छ। आयोजकले सबै भक्तजन र शुभेच्छुकहरूलाई सहभागिताको आग्रह गरेका छन्।


























