प्रहार समाचार । तनहुँ, ६ साउन २०८२ मङ्गलवार । तनहुँको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ सार्वजनिक गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आइपीओ खुला गरेको हो। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य ५८ करोड ६० लाख रुपैयाँ बराबरको छ।
यस आइपीओमा कम्पनीले जारी पुँजीको २ प्रतिशत हिस्सा अर्थात् ५ लाख ६६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अन्तर्गत तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका–१ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ का स्थानीय बासिन्दाहरूका लागि छुट्याएको छ।
त्यस्तै, विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको ५२ लाख ९४ हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४०० कित्ता शेयर उपलब्ध गराएको छ।

आवेदनको न्यूनतम सीमा १० कित्ता र अधिकतम २० हजार कित्ता तोकिएको छ।
आयोजना प्रभावित स्थानीयहरूले साउन २० गतेदेखि भदौ ४ गतेभित्र आवेदन दिन सक्नेछन् भने वैदेशिक नेपालीहरूका लागि आवेदनको अन्तिम म्याद साउन ९ गतेसम्म कायम गरिएको छ।



























