प्रहार समाचार । तनहुँ ५ साउन २०८२ सोमवार । धारिलो हतियार खुँडा देखाउँदै तनहुँको भानु नगरपालिका क्षेत्रमा रातिको समयमा आतंक मच्चाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ। मदिरा सेवनपछि दुई स्थानीयको घरमै पुगेर ज्यान मार्ने धम्की दिएका लौडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार भानु नगरपालिका–१३ का प्रकाश लौडारीले भानु–१२ निवासी बलराम अधिकारी र भानु–१३ निवासी अशोक अधिकारीको घरमा पुगेर “मार्छु” भन्दै खुँडा देखाएर आतंक फैलाएका थिए। रातिको समयमा स्थानियको घरभित्र पस्न लागेका लौडारीले खुँडाले झटारो हानेका थिए। पीडितहरुले समयमै ढोका बन्द गरेर ज्यान जोगाएका डीएसपी थापाले जानकारी दिए ।
स्थानीयवासीको हार गुहारपछि प्रहरी पुगेको थियो। त्यसबेलासम्म लौडारी भागिसकेका थिए। उनी काठमाडौँमा बसोबास गर्दै आएका भए पनि रवि लामिछानेको पक्राउको विरोधमा हस्ताक्षर संकलन गर्न हालै जन्मगाउँ आएका थिए। घटनापछि इलाका प्रहरी कार्यालय नारेश्वाटारले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


























