हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

बङ्गलादेशमा सैनिक विमान दुर्घटना : १९ को मृत्यु, १ सय ६४ घाइते

प्रहार समाचार । बंगलादेश, ५ साउन २०८२ सोमबार । बङ्गला देशको राजधानी ढाकाको उत्तर क्षेत्रमा आज भएको एक भीषण दुर्घटनामा बंगलादेश वायु सेनाको एफ-७ लडाकु विमान एक शैक्षिक भवनमा खस्दा कम्तीमा १९ जनाको ज्यान गएको छ भने १६४ जना घाइते भएका छन्। विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमाथि खसेको थियो, जसले ठूलो मानवीय क्षति निम्त्याएको छ।

वायु सेना, अग्नि नियन्त्रण सेवा र नागरिक सुरक्षा विभागले दुर्घटनापछि तत्काल उद्धार कार्य प्रारम्भ गरेको थियो। विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार अहिले पनि उद्धार कार्य तीव्र रुपमा जारी छ भने घाइतेहरूलाई ढाकास्थित विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। धेरैजसो घाइतेहरू विद्यार्थी तथा स्थानीय बासिन्दा रहेको अनुमान गरिएको छ।

दुर्घटनाको कारण अहिलेसम्म प्रष्ट हुन नसकेको बताइएको छ भने घटना सम्बन्धी विस्तृत छानबिन सुरु गरिएको छ। दुर्घटना स्थलमा देखिएको विनाशकारी दृश्यले सुरक्षाकर्मी, उद्धारकर्ता र सर्वसाधारणलाई समेत स्तब्ध बनाएको छ। बीबीसी हिन्दीका अनुसार अझै केही व्यक्तिहरु भवनको भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button