हेडलाईनव्याससमाचारगण्डकी

नेपाली कांग्रेस व्यास नगरस्तरीय बैठक सम्पन्न : समृद्धि र विकासको लक्ष्य हासिल गर्न पार्टी र नेतृत्व दुवै जिम्मेवार बन्नुपर्नेमा जोड

प्रहार समाचार । तनहुँ, ३ साउन २०८२ शनिवार । नेपाली कांग्रेस व्यास नगर समितिको नगरस्तरीय बैठकमा देशको समृद्धि र विकासको लक्ष्य हासिल गर्न पार्टी र नेतृत्व दुवै जिम्मेवार बन्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन्।

कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगर भित्रका वडाहरूमा विद्यमान समस्याहरूको पहिचान गरी समाधानतर्फ स्पष्ट योजनासहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले समृद्धि र विकासको लक्ष्य हासिल गर्न पार्टी र नेतृत्व दुवै जिम्मेवार बन्नुपर्ने बताए।

जिल्ला समन्वय समितिका अध्यक्ष शान्ति रमण वाग्लेले विगतदेखि वर्तमानसम्म नेपाली कांग्रेसको भूमिकाले विकासका गतिविधि सम्भव भएको उल्लेख गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे। पुर्व नगरप्रमुख तथा कांग्रेस नेता तारा श्रेष्ठले नेपाली कांग्रेसमा अहिले मैपन र तैपनको प्रवृत्ति हटाई संस्थागत सोचमा जोड दिनु पर्ने बताए। पूर्वमन्त्री दोबाटे विकले राष्ट्रिय सभाका सांसद पदम परियारको नेतृत्वमा व्यास क्षेत्रमा शिक्षा, खानेपानी, पूर्वाधार, सभाहलमा लिफ्ट जडानलगायतका क्षेत्रमा करोडौंको बजेट भित्र्याइएको जानकारी गराए।

महिला नेतृ सरिता गुरुङले अहिलेको निराशाजनक राजनीतिक परिस्थितिमा पनि आशाको दियो बलिरहने विश्वास जगाउनुपर्ने बताइन् भने नव-निर्वाचित महिला संघ अध्यक्ष सबिता पण्डितले महिला सशक्तीकरणमा सहकार्य अपरिहार्य रहेको धारणा राखिन्। युवा नेता उद्व पौडेलले पदाधिकारीहरूमा देखिएको दायित्वहीन प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै इमानदारीपूर्वक जिम्मेवारी बहन गर्न आग्रह गरे। बैठकमा सदस्य शिवहरी धितालले पार्टी दुई धारको तरबार बनेको भन्दै विचार, व्यवहार र नेतृत्वबीचको एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए। नगर अध्यक्ष सुर्य चन्द्र हडखलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण नगर सचिव खेमराज पोखरेलको गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button