
लमतन्न, एक मुर्दाजस्तै
थोत्रो च्यादरले ढाकिएको।
गएर नजिक, डराउँदै हेरेँ–
खोलेँ आफैँले मुखको कपडा।
देखायो अनि हाँस्यो–
पहेंला दाँत।
निडर भई सोधेँ– “को हो तिमी?”
‘खक्क’ हाँस्यो, भन्यो–
“चिनेनौ? म भ्रष्टाचार।
तिमी सँग दोस्ती भएन त्यसैले
के भनूँ, मेरा साथी धेरै छन्–
तिमी जसलाई ‘ठूला मान्छे’ भन्छौ,
सब मेरै हुन्।
तिम्रा विश्वासिला नेता– मेरै साथी।
गाउँका उम्रेका अगुवा– मेरै साथी।
विकासका योजना पोल्टामै हुन्छन्।
थाहा पाई राख,
मेरा विरोधीहरू
यस देशमा ‘नामर्द’ मानिन्छन्।
छ्या! कस्तो दुर्गन्ध!
नाकै दुख्ने…
तैपनि म बोलेकै छु।
व्यापारमा सफल मेरै मान्छे छन्।
धार्मिक अगुवा मेरै साथी।
नराम्रो देखेर नटाढिउन् कोही–
म फलिफाप गराइदिन्छु।
अख्तियार, अदालत,
सरकारी कि गैरसरकारी
जहाँ हेरे पनि
मलाई माया नगर्ने को छ र?
हरेक क्षेत्रमा मेरो अस्तित्व छ।
तिमी किन टाढियौ?
नडराऊ, म गन्हाउँछु अवश्य,
तर हितकारी सोचमा पनि म छु।
जताततै मेरो गाथा छ।
हेर्ने आँखा फरक होलान्,
अगाडि बढ्नेहरू
मेरो सुन्दरता र मोहमा लठिन्छन्।
नेपाल हो, आऊ,
हात मिलाऊ।
म पर सरेँ,
ऊ अगाडि सर्यो।
अचानक… सपना टुट्यो।
— तनहुँ ।

























