• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, ३ साउन २०८२ शनिवार । लमजुङको सदरमुकाम बेंसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि कारागारमा रहेका सबै १ सय ९ जना कैदी र थुनुवालाई अन्यत्र स्थानान्तरण गरिएको छ।

कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार ६ महिला र २५ पुरुष गरी ३१ जनालाई तनहुँको दमौली कारागारमा पठाइएको छ भने बाँकी ७८ जनालाई कास्कीको पोखरा कारागारमा स्थानान्तरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रेशम बोहराका अनुसार पुरुष कैदी र थुनुवालाई चारवटा बसमा र महिलालाई एउटै माइक्रो बसमा राखी सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्कर्टिङमा पोखरा र दमौली पुर्याइएको हो। अस्थायी रूपमा यी कैदी तथा थुनुवा कारागार मर्मत सम्पन्न नभएसम्मका लागि त्यहीँ बस्नेछन्।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार वर्षाका कारण कारागारको पश्चिमपट्टि रहेको गेटनजिकैको पर्खाल भत्किएको थियो। २०२८ सालमा कुन्छाबाट बेंसीसहर सारिएको यो कारागार ३५ जनाको क्षमताको भए पनि हाल तीनगुणा बढी कैदी थुनुवा राखिँदै आएको थियो। यसअघि पनि पर्खाल भत्किने घटनाहरू दोहोरिएका थिए तर यसपटकको क्षतिको गम्भीरताका कारण स्थानान्तरण गर्नु परेको हो।



























