हेडलाईनसमाचारगण्डकी

धार्मिक पर्यटन प्रवर्द्धनतर्फ राइनास नगरपालिका : धर्मनाथ धामबाट सुरु हुँदै बोलबम जलयात्रा

• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, ३ साउन २०८२ शनिवार । साउन महिनाकाे सोमबार विशेष शिवभक्तिको रूपमा मनाइने बोलबम जलयात्रा यस वर्ष लमजुङको राइनास नगरपालिकामा रहेको सर्वोदय सेवा आश्रम धर्मनाथ धामबाट सुरु हुने भएको छ। साउन ५ गते पहिलो सोमबारदेखि बोलबम यात्रा औपचारिक रूपमा प्रारम्भ हुने आश्रमका अध्यक्ष तथा धर्मनाथ धामका परिकल्पनाकार कृष्णराज ओलियाले बताए ।

धार्मिक पर्यटन प्रवर्द्धन तथा धामको प्रचारप्रसारको उद्देश्यले सुरु हुन लागेको यस यात्रामा बाह्य जिल्लाबाट समेत तिर्थालु भक्तजनको सहभागिता रहने आयोजकले बताएका छन्। समितिका अध्यक्ष दिपेन्द्र तिवारी र सनातन ज्ञानविज्ञानका अभियन्ता तथा पूर्व सांसद शंकरप्रसाद पाण्डेको नेतृत्वमा देशका विभिन्न स्थानबाट झण्डै ८० जना भक्तजन साउन ४ गते नै लमजुङ आइपुग्ने कार्यक्रम तय भएको छ।

आयोजकका अनुसार यात्रामा सहभागी हुन इच्छुक भक्तजन स्वेच्छाले सामेल हुन सक्नेछन्। जलयात्राको सिलसिलामा धर्मनाथ धाममा रहेको १०८ धारामा स्नान, शिवलिङ्गमा जलार्पण, पूजा, कथा वाचन, भजन–कीर्तनजस्ता धार्मिक अनुष्ठान चारै सोमबार गरिने प्रचारप्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिए।

धार्मिक कार्यक्रम प्रारम्भको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष सुकदेव रिसाल, सदस्य चिजकुमार श्रेष्ठ, योग तथा प्राकृतिक चिकित्सा विज्ञ ऋषिराम ज्ञवाली लगायत लमजुङका सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो।

भारतमा विशेष महत्वका साथ मनाइने बोलबम यात्रा पछिल्ला वर्षहरूमा नेपालका विभिन्न शिवालयहरूमा समेत विस्तार हुँदै गएको छ। विशेषतः साउन महिनामा भगवान शिवको आराधना गरिने र साउने सोमबारलाई शिवको प्रिय दिन मानिँदै आएको परम्परालाई जीवित राख्दै राइनासमा पनि यो धार्मिक यात्रा सुरु गर्न लागिएको आयोजकको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button