प्रहार समाचार । तनहुँ, १ २ साउन २०८२ शुक्रवार । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमल बहादुर आलेले तनहुँको ऋषिङ गाउँपालिकामा रहेका विपन्न नागरिकका लागि विद्युत महसुल मिनाहा गर्न उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा मन्त्री खड्कासँग भेट गरी आलेले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व कोषमार्फत बिजुली महसुल तिरेर राहत दिन आग्रह गरेका हुन्।

मन्त्री खड्काले महसुल नै माफ गर्न नसकिने भए पनि सामाजिक उत्तरदायित्व कोषबाट सहयोग सम्भव रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कानुनी प्रक्रिया अनुसार सहयोगको व्यवस्था मिलाउने संकेत दिएका छन्। विगतदेखि सामाजिक सेवामा सक्रिय प्रतिष्ठानले नागरिकका न्यूनतम आवश्यकतामा समेत सरकारको ध्यान जानुपर्नेमा जोड दिएको छ।
नेपाली कांग्रेसका स्व. नेता झुलबहादुर आलेको सम्झनामा स्थापित उक्त प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक सेवा लगायतका क्षेत्रमा सक्रियता देखाउँदै आएको छ। ऋषिङको एक वडामा मात्र रु १० लाख बराबरको अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट प्रत्येक वर्ष असहाय वृद्धवृद्धालाई सहयोग प्रदान गर्दै आएको प्रतिष्ठान अध्यक्ष आलेले बताए।

























