प्रहार समाचार । तनहुँ, २ साउन २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिका–२, कालिकामार्ग (भण्डारी मेडिकल नजिक) दमौलीमा ‘एनएस पञ्चधातु’ नामक नयाँ गहना तथा सृङ्गार पसल सञ्चालनमा आएको छ। एकै स्थानबाट पञ्चधातुका गहना, व्युटी पार्लर सेवा र विभिन्न जातजातिका परम्परागत गरगहना भाडामा उपलब्ध गराउने उद्देश्यले पसल स्थापना गरिएको हो।

सौन्दर्य व्यवसायी संघ नेपालकी सचिव आरती गुरुङद्वारा सञ्चालित पसलमा ओरिजिनल शंख चुरा, गलाहार, रानीहार, सिक्री, ब्रासलेट, औंठी, बाला लगायतका आकर्षक तथा बलिया पञ्चधातुका गहनाहरू बिक्रीमा राखिएको छ। सुनको मूल्य अत्यधिक महँगो भएकाले सर्वसाधारणका लागि सस्तो, बलियो र भरपर्दो हिसाबले उत्कृष्ट पञ्चधातुका सामाग्रीको माग उच्च रहेको गुरुङले बताइन्।

उनका अनुसार बजारमा धेरै ग्राहकहरू प्रत्यक्ष रूपमा सामान हेरेर किनमेल गर्न चाहन्छन्, त्यसैले आफैंले छनोट गर्न सकिने गरी पसल सञ्चालन गरिएको हो। साथै अनलाइन माध्यमबाट पनि पञ्चधातुका गहनाको व्यापार भइरहेको छ। पसलमार्फत तीन महिना, छ महिना र एक वर्षमा गहना एक्सचेन्ज गर्न सकिने व्यवस्था समेत गरिएको छ।

‘एनएस पञ्चधातु’ मा विभिन्न जातजातिका सांस्कृतिक तथा परम्परागत गहना भाडामा समेत पाइन्छन्, जसले विवाह, पूजाआजा तथा अन्य विशेष कार्यक्रमका लागि सहभागीहरूलाई सजिलो बनाएको छ।

त्यसैगरी पसलमा व्युटी पार्लरका सम्पूर्ण सेवा पनि उपलब्ध छन्। गुरुङले यसअघि व्यास–१ गल्बु वेशीमा आठ वर्षदेखि ‘आरती सृङ्गार गृह’ सञ्चालन गर्दै आएकी थिइन्।

उक्त पसलमार्फत हाल दुई जनाले रोजगारीको अवसर समेत पाएका छन्। गुरुङले सिटिभिटी लेभल वान पास गरेकी छिन् भने हाल लेभल टु को फारम भरेर तयारीमा छिन्। उनले महिलाहरू बेरोजगार नबसून्, सिप सिकेर आत्मनिर्भर बनून् भन्ने सन्देश पनि दिन चाहेको प्रहार समाचारलाई बताइन् ।


























