प्रहार समाचार । काठमाडौँ, २ साउन २०८२ शुक्रवार । नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित नभए विगतको भन्दा कडा संघर्षमा उत्रने चेतावनी दिएको छ। महासंघले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि भइरहेको छलफल शीघ्र टुंग्याएर प्रतिनिधिसभामा समयमै पेस गर्न सरकारसँग आग्रह गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हालसम्म भएका सहमतिलाई समेटेर विधेयक पारित गर्नुपर्नेमा जोड दिँदै २०७५, २०७८, २०८० र २०८१ सालमा भएका लिखित सहमति कार्यान्वयन नहुनु सरकारको लाचारीपन भएको आरोप लगाए। उनले शिक्षा विधेयक महासंघसँगको सहमतिविपरीत अघि बढे वा तोकिएको समयसीमाभित्र अघि नबढेमा सशक्त आन्दोलन गर्ने उद्घोष गर्दै आन्दोलनका कार्यक्रम यथासमयमा सार्वजनिक गरिने जानकारी गराए।

महासंघले शिक्षकको स्थायीत्व, बढुवा, विभागीय कारबाही, सरुवा, ट्रेड युनियन अधिकार, विद्यालय कर्मचारी व्यवस्थापन, बालकक्षा तथा संस्थागत विद्यालयका शिक्षक–कर्मचारीको व्यवस्थापन, द्वन्द पीडित शिक्षकको समस्या समाधानलगायत मागहरू अघि सारेको छ। यी माग सम्बोधन नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारलाई हुने स्पष्ट सन्देश महासंघले दिएको छ।


























