प्रहार समाचार । काठमाडौं, २ साउन २०८२ शुक्रवार । अहिले देशभर सक्रिय मनसुनी प्रणालीका कारण देशका अधिकांश भागमा वर्षा जारी छ भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति देशका थुप्रै ठाउँमा सामान्य वर्षा भएको र हाल कोशी, कर्णाली, सुदूरपश्चिम लगायतका प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको जानकारी दिइएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशभरको मौसम आंशिकदेखि पूर्ण बदली रहनेछ । विशेषगरी कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरीको सम्भावनासमेत रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षा थप सक्रिय हुने पूर्वानुमान गरिएको छ । सम्भावित वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै नदी किनार तथा पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

























