• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, १ साउन २०८१ बिहीवार । लमजुङको क्व्होलासोथार गाउँपालिकाले राष्ट्रप्रतिको सम्मान, सामाजिक सद्भाव र एकता अभिवृद्धिका लागि कार्यालयको दैनिक कामकाज राष्ट्रिय गान गाएर सुरु गर्ने अभ्यासको थालनी गरेको छ।

गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै साउन १ गतेदेखि प्रत्येक दिन बिहान १० बजे कार्यालय सुरु हुनुअघि राष्ट्रगान बजाउने र त्यसपछि मात्र काम थाल्ने निर्णय लागू गरेको हो। पहिलो दिनको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख प्रशासकीय अधिकृतसहित सबै जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार “राष्ट्रिय गानले देशको महिमा, पुर्खाको गौरव, सहिद र जनताको बलिदान सम्झाउने मात्र होइन, कर्मचारीलाई सकारात्मक प्रेरणा दिने भएकाले” यो अभ्यास थालिएको हो। यसरी कार्यालय सुरु गर्नु अघि राष्ट्रिय गान गाउने परम्परा सुरु गर्ने क्व्होलासोथार गाउँपालिका सम्भवत: नेपालकै पहिलो स्थानीय तह बनेको छ।


























