प्रहार समाचार । काठमाडौं, १ साउन २०८२ बिहिवार । पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताका विषयमा निर्णय गर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपालले सम्बन्धित राज्य निकायहरूलाई आग्रह गरेको छ। काउन्सिलले ऐनमा तोकिएको दायित्व, अधिकार र कर्तव्यअनुसार आफूले कार्य गर्दै आएको स्पष्ट पार्दै भ्रममा नपर्न समेत आग्रह गरेको हो।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ अन्तर्गत दफा ५ र ७ मा उल्लेखित उद्देश्य र अधिकारभित्र रही काउन्सिलले पत्रकारिताको मर्यादा, प्रेस स्वतन्त्रता तथा सार्वजनिक नैतिकताको संरक्षणमा ध्यान दिँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै पछिल्लो समय सञ्चार प्रविधिको विकाससँगै पत्रकारिताका स्वरूपमा आएको परिवर्तनअनुसार युट्युब, अनलाइनजस्ता माध्यमसमेत नियमन गर्ने कार्यविधि तयार गरी कार्यान्वयन भइरहेको जानकारी दिइएको छ।

आज सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिल बैठकको निर्णयअनुसार जारी विज्ञप्तिमा काउन्सिलले पत्रकार आचारसंहिता उल्लंघन, उजुरी तथा अनुगमनसम्बन्धी प्रक्रिया आफ्नो ऐन र कार्यविधिभित्र रही सञ्चालन हुँदै आएको जनाउँदै संवैधानिक निकायहरूप्रति प्रेस स्वतन्त्रता र पत्रकारिताको गरिमा कायम राख्न स्पष्ट दृष्टिकोण आवश्यक रहेको पुनः स्मरण गराएको छ।

























