प्रहार समाचार । तनहुँ, १ साउन २०८२ बिहीवार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकाबाट फर्किएका स्वतन्त्र युवा नेता दीपक राज जोशीबीच राप्रपा केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था र देशको आगामी राजनीतिक दिशाबारे छलफल भएको राप्रपा स्रोतले जनाएको छ।

दुवै नेताबीच विशेष रूपमा विदेशबाट नेपाल फर्किएका युवालाई देशमै स्थायीत्व दिन सक्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा गहिरो विचारविमर्श भएको थियो। भेटमा स्वदेश फर्केका दक्ष जनशक्तिहरूको ऊर्जा सदुपयोग गर्न र अझै विदेशमा रहेका नेपाली युवालाई स्वदेश फर्कन प्रेरित गर्ने उपायहरूबारे समेत छलफल भएको श्रोतले जनायो ।
नेता जोशीले युवाहरूले देखाएको आशा, विचार र योगदानलाई स्वीकार गर्न स्पष्ट नीति र दृढ प्रतिबद्धताको आवश्यकता औंल्याएका थिए भने अध्यक्ष लिङ्देनले स्वदेशमै सिर्जना गर्न सकिने अवसरहरूको पहिचान गर्दै सकारात्मक पहलमा राप्रपा सधैं अगाडि बढ्ने संकेत गरेका थिए।

नेता जोशी हाल नेपालमै स्थायीरूपमा सक्रिय छन्। उनले अघिल्लो स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए र मतगणनामा धाँधली भएको भन्दै मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

























