हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसमा पदस्थापन कार्यक्रम सम्पन्न : तीन सहायक क्याम्पस प्रमुखसहित विभागीय प्रमुख र संयोजकको जिम्मेवारी तोकियो

प्रहार समाचार । तनहुँ, १ साउन २०८२ बिहीवार । तनहुँको व्यास–१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा आज सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा विभिन्न समितिका संयोजकहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिको असार ३२ गतेको निर्णयअनुसार नवनियुक्त प्राध्यापकहरूको औपचारिक पदस्थापन गरिएको हो।

त्यस अवसरमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सकेमा क्याम्पसले गुणस्तरीय शैक्षिक सफलता हासिल गर्ने बताए । व्यास १ का निवर्तमान वडा अध्यक्ष खरसिंह दरैले योग्य, दक्ष र अनुभवी प्राध्यापकहरूलाई जिम्मेवारी दिइएको भन्दै कार्य मूल्याङ्कनको प्रक्रिया निरन्तर चल्ने उल्लेख गरे ।

कार्यक्रमका अध्यक्ष तथा क्याम्पस प्रमुख महाप्रसाद हडखलेले क्याम्पसमा योग्यताको आधारमा नेतृत्व जिम्मा दिइने परम्परा सुरु भएको बताउँदै सेवा विस्तारसँगै व्यवस्थापन सुदृढ गर्न तीन सहायक क्याम्पस प्रमुखको आवश्यकता रहेको जानकारी दिए । नियुक्त भएका सहायक क्याम्पस प्रमुखहरुमा डा. रामकुमार अधिकारी (शिक्षाशास्त्र तथा बिहानी सत्र), विश्वेश्वर तिमल्सेना (व्यवस्थापन संकाय तथा दिवा सत्र) र बिमल गिरी (मानविकी संकाय तथा सायंकालीन सत्र) रहेका छन् ।

त्यसैगरी विभागीय प्रमुखमा डा. सुशील वाग्ले (नेपाली), गजेन्द्र पौडेल (शिक्षा), जनक काफ्ले (व्यवस्थापन), सागर पौडेल (विज्ञान), घन बहादुर थापा ( बिआइसिटिई ) नियुक्त नभएका छन्। त्यसै गरि अभ्यास शिक्षण समिति संयोजकमा लालप्रसाद भट्टराई, अतिरिक्त क्रियाकलापमा तिल बहादुर थापा, गुनासो परामर्श तथा रोजगार प्रतिस्थापनमा बिमल खत्री, र स्व–मूल्याङ्कन प्रतिवेदन लेखन समितिमा राजन घिमिरेलेलाई संयोजनको जिम्मेवारी तोकिएको क्याम्पसले जनाएको छ। कार्यक्रमको सहजीकरण निवर्तमान सहायक क्याम्पस प्रमुख सागर पौडेलले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button