प्रहार समाचार । काठमाडौं, १ साउन २०८२ बिहिवार । काठमाडौंको पुरानो सिनामंगल क्षेत्रबाट राजश्व छली गरिएका विद्युतीय सामग्रीसहित चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–३२ स्थित बसोबास गर्दै आएका ३८ वर्षीय वाङलाई म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सिनामंगलको पंचमुखी चोकबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार वाङसहित केही व्यक्तिहरूले विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा लगायतका विद्युतीय सामग्री बिना बिल-बिजक भन्सार छली गरी भण्डारण तथा बिक्री वितरण गर्दै आएको सूचनाको आधारमा कारबाही गरिएको हो। वाङको साथबाट करिब २ करोड १९ लाख ७६ हजार ७ सय रुपैयाँ बराबरका विद्युतीय उपकरणहरू बरामद गरिएको छ।
बरामद गरिएका सामग्रीमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा, एचडी क्यामेरा लगायत रहेका छन्। पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, हरिहर भवन, ललितपुरमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।


























