• विजय अधिकारी (प्रहार संवाददाता), लमजुङ,१ साउन २०८२ बिहीवार । लमजुङ सदरमुकाम बेंसीसहरस्थित जिल्ला कारागारको कम्पाउण्ड पर्खाल भत्किएको छ। असार ३२ गते बुधबार दिउँसो ४:४५ बजेतिर लगातारको भारी वर्षाका कारण कारागारको पश्चिमतर्फको मूल प्रवेशद्वारसहितको झण्डै ३ मिटर पर्खाल भत्किएको हो। जिल्ला कारागार शाखाका प्रमुख प्रशासक बेनीबहादुर मुक्तानका अनुसार पर्खाल भित्रबाट बाहिरतर्फ भत्किएको र समयमै सुरक्षा सतर्कता अपनाइएकोले कैदी थुनुवाहरु भाग्न नसकेको बताए।

पर्खाल भत्किँदा कुनै पनि व्यक्ति घाइते नभएको र सुरक्षाकर्मीको सशक्त उपस्थितिले स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘मुख्य ढोकासहित पर्खाल नै भत्किएको भए पनि सुरक्षा व्यवस्था मजबुत रहेकोले भाग्ने प्रयास हुन सकेन,’ प्रशासक मुक्तानले भने। जिल्ला कारागार “ग” वर्गअन्तर्गतको संरचना हो, जसको क्षमता ३५ जनाको भए पनि हाल त्यहाँ ६ महिला सहित १ सय ८ जना कैदी थुनुवा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले कारागारको पर्खाल जीर्ण भइसकेको र पटक–पटक भत्किँदै आएको जानकारी दिए। उनका अनुसार कारागार भवन निर्माणको प्रयास भैरहेको छ। पर्खाल भत्किएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेना समेत कारागार सुरक्षार्थ परिचालन गरिने प्रशासनले जनाएको छ।



























