प्रहार समाचार । तनहुँ,१ साउन २०८२ बिहीवार । नेपालभर विशेषगरी हिन्दू धर्मालम्बीहरूले आज साउन १ गतेलाई साउने सक्रान्तिका रूपमा विशेष श्रद्धा, विधिपूर्वक र विविध सांस्कृतिक विधिहरूका साथ मनाउने चलन छ। यो दिनलाई स्वास्थ्य, शुद्धता र चाडपर्वको प्रारम्भसँग जोडिएको विशेष दिनका रूपमा लिइन्छ। कृषक समुदायमा यो पर्व खेतबारीको कठिन श्रमपछि विश्राम लिँदै शारीरिक रोग–व्याधिबाट मुक्ति पाउने अवसरका रूपमा समेत रहेको छ।

साँझपख भलायो, कुरीलो, जोर निबुवा, जोर खनायो, जोग बेलाउँती, हरिया मकै, पानीसरो लगायतका वनस्पति तथा करकलोको पातको मुठा, पातीका डाँठ संकलन गरी आँगन नजिकै रहेको तुलसीको मठ नजिकै पूजाआजा गरिन्छ। त्यसपछि यी सामग्रीहरू जोर जाय गरेर पूजा गरेर आगो सल्काए आगो समेत भएको दाउराकको अगुल्टो हातमा लिएर ‘ लुतो, पिलो, रोग, व्याधि, खटिराहरु सबै लैजाओ…. गाउँले हो ‘ भनेर “लुतो फाल्ने” विधि अपनाइन्छ। जुन अति रोचक मानिन्छ । परम्परागत विश्वास अनुसार असार–साउनको रोपाइँमा हिलो र चिसो लागेर शरीरमा सर्ने चिलाउने, फोका आउने जस्ता रोगहरू यस विधिबाट हट्ने विश्वास गरिन्छ।

धर्मशास्त्रविद् तथा ज्योतिर्विद् डा. रामकान्त मिश्रका अनुसार साउने सक्रान्तिलाई आयुर्वेद र ज्योतिष दुवै दृष्टिकोणले महत्वपूर्ण दिन मानिन्छ। “प्राकृतिक जडीबुटीको प्रयोग र सूर्यको संक्रमणको समय सँगै भएकोले शरीर र मन शुद्ध हुने यो समय धार्मिक उपचारको लागि अति उपयुक्त हो,” डा. मिश्र बताउँछन्। यस्तै, वेदव्यास अध्ययन केन्द्रका विद्वान् आचार्य सोमनाथ उपाध्यायका अनुसार साउन १ बाट देवी–देवताको विशेष आराधना, व्रत, पूजा तथा चाडपर्वहरू औपचारिक रूपमा सुरु हुने भएकाले यस दिनको महत्व अझ बढी हुन्छ।
यस दिन महिलाहरूले तिघ्रे धागो हातमा बाँध्ने परम्परा पनि पालना गर्छन्, जसले असल स्वास्थ्य, दीर्घायु र दुर्भाग्यबाट बचाउने विश्वास पाइन्छ। साउने सक्रान्तिको सांस्कृतिक महत्वसँगै सामाजिक पक्ष पनि विशेष छ – किनकि यस दिनपछि जनजीवन चाडपर्वमय बन्दै जान्छ। गाउँघरमा मेलापात, आत्मीयता र साझा परम्परा झल्काउने लुतो फाल्ने कार्यले नेपाली समाजको परम्परागत स्वास्थ्य चेतनासँगै धार्मिक आस्थालाई समेत सुदृढ बनाउँदै आएको छ।



























