प्रहार समाचार । काठमाडौँ, १ साउन २०८२ बिहीवार । देशभर हाल सक्रिय रहेको मनसुनी वायुका कारण गण्डकी प्रदेशका धेरै ठाउँ, बागमती र लुम्बिनीका केही स्थान तथा अन्य प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी क्षेत्रका धेरै स्थानमा वर्षा भएको थियो।

आज दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, यी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना पनि रहेको छ। बाँकी प्रदेशका केही स्थानमा पनि आंशिक वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयको पूर्वानुमान हेर्दा कोशी, मधेश र अन्य पहाडी भू-भागहरूमा पनि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैबीच, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा हावाहुरी चल्न सक्ने सम्भावना समेत रहेको महाशाखाले चेतावनी दिएको छ। भारतको उत्तर प्रदेश आसपास सक्रिय न्यूनचापीय क्षेत्रले समेत देशको मौसममा थप प्रभाव पारेको जनाइएको छ।


























