प्रहार समाचार । काठमाडौँ, ३२ असार २०८१ बुधवार । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको प्रथम सेवा विन्दु हटाइएको व्यवस्थाले समस्या भोगिरहेका नागरिकका गुनासोपछि सरकार पछि हटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको सहजता र सेवाप्रवाह सुनिश्चित गर्न नजिकै सेवा विन्दु नभएका क्षेत्रका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने व्यवस्था मिलाइएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

.बोर्डको नयाँ निर्णयमा सुधार, मन्त्रीको सक्रियता
हालै स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु हटाएर स्थानीय तहमा मात्र सीमित गर्ने निर्णय गरेपछि धेरै नागरिकले सेवा लिन अप्ठ्यारो भएको भन्दै गुनासो गरेका थिए। त्यसपछि मन्त्री पौडेलले बीमा बोर्डमार्फत् केन्द्रीय अस्पतालमै पहिलो विन्दु कायमै राख्ने वैकल्पिक व्यवस्था सुरु गरेका हुन्। मन्त्रालयको निर्देशनअनुसार अब स्थानीय तहमा सेवा विन्दु नपुगेका स्थानमा अस्थायी रूपमा केन्द्रीय अस्पताल बाट सेवा दिन सकिनेछ।

स्थानीय तहमा सेवा विस्तारमा जोड, सहकार्यको प्रतिबद्धता
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउँदै प्रत्येक स्थानीय तहमा कम्तीमा एक सेवा विन्दु अनिवार्य बनाउने नीति ल्याउने स्पष्ट पारेका छन्। उनले स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतिका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्दै घरदैलोमै सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बीमा कार्यक्रमलाई दीगो र नागरिकमैत्री बनाउने दिशामा सबैको सुझाव र सल्लाहलाई स्वागत गर्ने उनले बताएका छन्।



























