• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, ३२ असार २०८२ बुधवार । लमजुङको राईनास नगरपालिका–६, धमिलिकुवामा भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

भूमि समस्या समाधान आयोग, लमजुङ जिल्ला समितिको पहलमा सार्वजनिक पर्ति जमिनबाट व्यवसायिक तथा आवासीय प्रयोजनका लागि प्रत्येकलाई १९१.०४ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा १६ जनालाई उपलब्ध गराइएको हो।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले भूमिहीनलाई जग्गा उपलब्ध गराउनु राज्यको संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै राईनासका नागरिकहरूको सपना आजको दिनबाट केही हदसम्म पुरा भएको बताए।

आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले यसलाई सामाजिक न्याय र भूमिहीन मुक्त राष्ट्र निर्माणतर्फको सार्थक प्रयासको रूपमा व्याख्या गरे। उनले राईनास नगरपालिका वडा नं. ६ आयोग गठनपछिको पहिलो लालपुर्जा वितरण गर्ने स्थानीय तह भएको जानकारी पनि दिए।

नगरप्रमुख खड्ग बहादुर गुरुङले बाँकी ५६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई पनि चाँडै लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए। वडाध्यक्ष गोविन्द चिलुवालका अनुसार ३३ जनाको कित्ताकाट कार्य सम्पन्न भइसकेको र अन्यको नापजाँच तथा जमिन पहिचान कार्य भइरहेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका पदाधिकारी तथा लाभग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



























