प्रहार समाचार । काठमाडौं, ३१ साउन २०८२ मङ्गलवार । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपरान्ह उनलाई मन्त्री नियुक्त गरेका हुन्। न्यौपाने नेकपा (एमाले)की तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतकको भूमिकामा रहेकी हुन्।

यो नियुक्ति अघिल्ला मन्त्री राजकुमार गुप्ताको राजीनापछि गरिएको हो। गुप्ता भ्रष्टाचारसम्बन्धी अडियो प्रकरण सार्वजनिक भएपछि आलोचनामा परेका थिए र मन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरेसँगै रिक्त रहेको मन्त्रालयमा नयाँ नेतृत्वको आवश्यकता महसुस गरिएको थियो।

न्यौपाने दीर्घकालीन राजनीतिमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन्। एमालेभित्र उनको अनुशासित र विश्वासिलो कार्यशैलीका कारण उनलाई मन्त्रालयको जिम्मेवारी दिइएको बुझिएको छ। उनको नियुक्तिसँगै मन्त्रालयमा स्थायित्व र परिणाममुखी कार्यप्रणाली अपेक्षा गरिएको छ।


























