प्रहार समाचार । तनहुँ, ३१ असार २०८२ मङ्गलवार । तनहुँको भानु नगरपालिकाको १६औं नगर सभाको तेस्रो बैठक नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको छ। असार ५ गतेदेखि सुरू भएको नगर सभाको पहिलो बैठकपश्चात असार १० गते दोस्रो बैठक बसेको थियो भने असार ३१ गते तेस्रो बैठक सम्पन्न भएको हो। बैठकमा चालु तथा पूँजीगत योजना, विषयगत शाखाको बजेट प्रस्तुत गरिएको थियो।

बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र न्यायिक क्षेत्रमा ल्याइने विभिन्न कार्यक्रम सार्वजनिक गरिएका छन्। विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन, स्थानीय पाठ्यक्रम (हाम्रो भानु) पुस्तक प्रकाशन, शैक्षिक प्रदर्शनी, कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा वितरण, एमबिबिएस प्रोत्साहनजस्ता कार्यक्रम प्रस्तुत गरिएका छन्। कृषिमा गण्डकी प्रदेश सरकारसँग सहकार्य गरी गुन्द्रुक, तोरी, निबुवाको पकेट क्षेत्र निर्माण, उत्पादन तथा ब्रान्डिङ, कृषि एम्बुलेन्स खरिदलगायतका कार्यक्रम समावेश गरिएका छन्।

नगर सुशासन प्रवर्द्धनका लागि भानु नगरपालिका सुशासन समितिबाट उत्कृष्ट कर्मचारीहरूको छनोट गरी सम्मान गरिएको छ।

१३ वडाबाट छानिएका कर्मचारीमध्ये वडा सचिव मदन घर्ती, श्रेणीविहीन कर्मचारीतर्फ सवारी चालक शुशील सार्की, शिक्षा शाखाबाट अधिकृत सरस्वती ढकाल (गुरुङ) र जनस्वास्थ्य अधिकृत सुवास रेग्मीलाई १६औं नगर सभाको अवसरमा सम्मानित गरिएको हो।





























