प्रहार समाचार । तनहुँ, ३१ असार २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिकाको सुक्ष्म वर्गीकाण केन्द्र निर्माणका लागि जग्गा खरिद गर्ने कार्य विवादै विवादको घेरामा अल्झिएको छ।

नगरपालिकाले व्यास १३ मा रहेको ३९ रोपनी १५ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको युगिन कृषि फार्मको नामको जग्गा खरिद गरी सरसफाई सुक्ष्म वर्गीकरण केन्द्र निर्माण गर्न पहल थालेको थियो। सो प्रयोजनका लागि नगरपालिकाले सम्पूर्ण मुआब्जा व्यहोर्ने गरी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाए पनि स्थानीयहरू तथा संधियारहरूले सो स्थानमा केन्द्र स्थापना गर्न नहुने धारणा राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसम्म उजुरी दिएका थिए। सोही सन्दर्भमा गृह मन्त्रालयको निर्देशनमा आज स्थलगत सर्जमिन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विनोद श्रेष्ठको अध्यक्षतामा गठित संयुक्त छानबिन समितिले वडाबासी, सरोकारवालाहरू र जग्गा सधिंयारहरूको सहभागितामा स्थलगत सर्जमिन गरेको हो। समितिमा व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हड्खले र वरिष्ट प्रशासन सहायक विष्णु कुमार जोशी सदस्य रहेका थिए।

सर्जमिनको क्रममा स्थानीयहरूले सो स्थानमा सुक्ष्म वर्गीकरण केन्द्र निर्माण गर्न नहुने धारणा व्यक्त गरेका थिए। प्रशासकीय अधिकृत रामचन्द्र हड्खले सार्वजनिक मुचुल्का तयार गरेका थिए ।
यसै बिच उक्त जग्गा नगरपालिकालाई खरिद गर्न नदिइ आफूहरुले खरिदगरि प्लटिङ गरेर रिसोर्ट, स्विमिङ पुल, बृद्धाश्रम लगाएत बनाएर महङ्गोमा बिक्रीवितरण गर्ने सम्बन्धि नगरपालिकाका वरिष्ठ अलेप अधिकृत कुमार कन्चन जिसी, सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरे, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती लगायतले जग्गा बिक्री गरि कमिसन खाने अडियो काण्डले नगरपालिकामा सनसनि मच्चाएको थियो । व्यास नगरका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रले उक्त प्रकरणमा गल्ती गर्ने कर्मचारीमाथि स्थानीय ऐनअनुसार कारबाही गरिएको र केहिले गल्ति स्विकार गरि माफी दिएको बताए ।

यसअघि नगरपालिकाले व्यास–३ को मादी नदी किनार र व्यास–१३ को फुटेको ढुंगामा फोहर विसर्जन गर्दै आएको थियो। अहिले नगर पालिकाले छोटो समयको लागि व्यास १ को गल्बुबेशीमा स्थानिय एक व्यक्तिको जग्गामा फोहोर बिसर्जन गर्दै आएको छ भने नकुहिने फोहोरको नगर पालिका भित्रै फोहोरको बर्गिकरण गरेर आम्दानी समेत गर्न थालेको छ। यसरी यथास्थितिमा हेर्दा नगरपालिकाको सुक्ष्म वर्गीकरण केन्द्र स्थापनाको प्रयास व्यवहारमा रूपान्तरण हुन नसकी विवाद र विरोधकै दलदलमा फसेको देखिन्छ।



























