काठमाडौँ, २९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। आज आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालका हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थिति आफैंमा प्राकृतिक चलचित्र स्टुडियो रहेको उल्लेख गर्दै यसले रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान दिने विश्वास व्यक्त गर्दै चलचित्रबाट राष्ट्रिय कला, संस्कृति, भाषा, साहित्य र पहिचान उजागर गर्न सकिने बताए ।

राष्ट्रपति पौडेलले पछिल्लो समय आदिवासी जनजातिका कला, भाषा, भेषभूषा र संस्कृतिका कथालाई प्राथमिकता दिइनु समावेशिता र विविधताको दृष्टिले सकारात्मक संकेत भएको उल्लेख गरे । राष्ट्रपतिले कलात्मक, सन्देशमूलक र नेपाली मौलिकतासहितका चलचित्र निर्माण गरी विश्वव्यापी दर्शकसामु पुर्याउनुपर्नेमा जोड दिए । गुणस्तरीयता कायम गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको विस्तार गर्नु आजको आवश्यकता भएकोमा राष्ट्रपतिको जोड थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले चलचित्रको माध्यमबाट सूचना, शिक्षा, प्रेरणा र स्वस्थ मनोरञ्जन दिन सकिने उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र स्तरीय चलचित्र निर्माणमा ध्यान जानुपर्ने उल्लेख गरे । समारोहमा लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने ११ जनालाई विशेष योगदान सम्मान र ११ जनालाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरिएको थियो ।



















