हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

भानु जयन्तीमा ‘भानु-घाँसी स्मारक पार्क’मा स्मृति सभा सम्पन्न : डिपिआर अनुरूप पार्क पुनर्निर्माणको आश्वासन

प्रहार समाचार । तनहुँ, २९ असार २०८२ आइतवार । तनहुँको व्यास नगरपालिका–१२ स्थित भानु घाँसी पार्क संरक्षण समितिको आयोजनामा २ सय १२औं भानु जयन्तीका अवसरमा स्मृति सभा सहित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले भानु घाँसीको स्मृति र योगदानलाई उजागर गर्न पार्कको संरक्षण र पुनर्निर्माण आवश्यक रहेको बताए । उनले ३ करोड ५३ लाख रुपैयाँको लागतमा डिपीआर तयार भइसकेकोले ऐतिहासिक घाँसीकुवा सहित आकर्षक पार्क निर्माण हुनेमा विश्वास लिए । उक्त पार्क पृथ्वी राजमार्ग विस्तारको क्रममा भत्किएको थियो।

मुग्लिन–पोखरा सडक पूर्वी खण्डका केपी सिंहले डिपिआर अनुसार पार्क सहितको धाँसीकुवा निर्माण प्रक्रिया अघि बढ्ने स्पष्ट पारे । कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपाने, पूर्व अध्यक्ष सागर उदास, नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष शंकरराज नहर्की, साहित्यकार समुन्द्र गोदार, रमेश आचार्य, सन्तोष पन्थ लगायतले भानु भक्तको स्मृतिमा आधारित कविता तथा गीत वाचन गरेका थिए।

कार्यक्रममा व्यास–१२ का वडाध्यक्ष बमबहादुर थापाले स्थानीय सरकारको तर्फबाट संरक्षण कार्यमा आवश्यक सहयोग पुर्‍याइने प्रतिबद्धता जनाए । व्यास नगरका संस्थापक नगरप्रमुख तथा पार्कका परिकल्पनाकार ताराप्रसाद श्रेष्ठले भानु घाँसी पार्कले इतिहास र पहिचान बोकेको स्मारक भएकाले यसको संरक्षण नगरवासीको साझा जिम्मेवारी भएको धारणा राखेका थिए ।

समितिका अध्यक्ष अमृत पन्थको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल सुर्खालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । एनएमबि बैंक, दमौली शाखाले आर्थिक सहयोग गरेको उक्त कार्यक्रममा बैंकका प्रदेश प्रमुख दुर्गाराम पुरी र दमौली शाखा प्रमुख सरोज जमरकट्टेलको सहभागीता रहेको थियो। कार्यक्रमको सहजिकरण सचिव गोपाल घर्तीले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button