प्रहार समाचार । काठमाडौँ, ३० असार २०८२ सोमवार । गए राति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ भने सङ्खुवासभा जिल्लामा भारी वर्षा मापन गरिएको छ। हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनीका एक-दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडी भू-भागमा वर्षाको सम्भावना उच्च रहेकाले त्यस क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकोले त्यहाँ बाढी, पहिरो, भू-क्षय र गेग्रान बहावको जोखिम उच्च भएको मौसमविद्हरूको चेतावनी छ। मनसुन सक्रिय रहेकाले रातिसम्म पनि देशभर वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सामान्यभन्दा उत्तरतिर सरेको देखिएको छ।

























