हेडलाईनसमाचारसाहित्यगण्डकी

लमजुङमा भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती सम्पन्न

• विजय अधिकारी (प्रहार संवाददाता ) । लमजुङ, २९ असार २०८२ आइतवार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती लमजुङ सदरमुकाम बेसीशहरमा साहित्यिक कार्यक्रमका साथ मनाइएको छ। लिस्नो साहित्यिक मञ्च नेपाल र प्रकृति नारी समाजको संयुक्त आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा भानुभक्तको जीवन, काव्य परम्परा र साहित्यिक योगदानबारे समर्पित छलफल गरिएको थियो।

कार्यक्रम मा बोल्दै साहित्यकार अंगराज घिमिरेले भानुभक्तलाई नेपाली साहित्यको स्तम्भ भन्दै उनको योगदान युगीन र कालजयी रहेको उल्लेख गरे। उनले संस्कृत रामायणलाई नेपालीमा अनुवाद गरेर भानुभक्तले जनताको भाषा र चेतनामा साहित्यिक क्रान्ति ल्याएको धारणा राखे। कार्यक्रम अध्यक्षता प्रकृति नारी समाजकी अध्यक्ष अतिरुपा सेढाईले गरेकी थिइन्।

कार्यक्रममा माधव थापा, नोर्देन तामाङ, दीपक पाण्डेय, भरत घिमिरे, बासुदेव थापा, बसन्त अधीर, विनिता देवकोटा, कमला दनाई, रमराज खनिया, कमला के.सी., अजित अधिकारी, कल्पना सेढाई, देवीदास बराल, कृष्ण आले र सोहन परियार लगायतका स्रष्टाहरूले भानुभक्तीय भावनासँग मेल खाने कविता वाचन गरेका थिए।

जिल्लाका विभिन्न स्थानबाट आएका साहित्यप्रेमीहरू, सरस्वती आमा समूह, ह्यल्मो आमा समूह, कर्पुरेश्वर आमा समूह र बाबा आमा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा लिस्नो मञ्चका संस्थापक अध्यक्ष बसन्त अधिकारीले स्वागत मन्तव्य र उपाध्यक्ष बासुदेव सेढाईले कार्यक्रमको सहजीकरण गरेका थिए। भानुभक्तका काव्यकृति आज पनि जनमानसमा जीवित छन् भने मोतिराम भट्टद्वारा ती कृतिहरू संकलन र प्रकाशन भएपछि उनी नेपाली साहित्यमा अमर भएका हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button