प्रहार समाचार । बागलुङ , २८ असार २०८२ शनिवार । बागलुङको बुर्तिबाङ अस्पतालमा सुरक्षित प्रसूति सम्भव नभएपछि ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीया हुमी विक र वडा नं. ५ की २३ वर्षीया देवी सुनारको हवाई उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत दुर्गम बस्तीबाट काठमाडौं ल्याइएका उनीहरूलाई तत्कालै थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको हो।

समयमै उद्धार नभएको भए ज्यान जोखिममा पर्ने चिकित्सकको भनाइ :
स्थानीय स्वास्थ्यकर्मीका अनुसार गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले तत्कालीन उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको हो। प्रहरीले उद्धार समन्वय गरेपछि नेपाली सेनाको हेलिकप्टर बागलुङको बुर्तिबाङ पुगेर उनीहरूलाई राजधानी ल्याएको हो।
दुर्गम क्षेत्रको सुत्केरी सेवा संकटमै, हवाई उद्धार नै अन्तिम उपाय : ढोरपाटन जस्तो दुर्गम क्षेत्रमा अझै सुरक्षित मातृसेवा पुग्न नसक्दा यस्ता जोखिमपूर्ण अवस्थामा हवाई उद्धारकै भर पर्नुपर्ने बाध्यता छ। बर्सेनि दर्जनौं गर्भवती महिला यस्तो परिस्थितिमा परिरहेका छन्। यसले दुर्गम क्षेत्रका महिलाको प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वमा राज्यको थप ध्यान दिनुपर्ने देखिएको छ।

























