प्रहार समाचार । काठमाडौँ, २७ असार २०८२ शुक्रवार । अहिले देशभर मनसुनी वायुको सक्रियता कायम रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका एक–दुई स्थानमा अहिले पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएराति पनि देशका केही भूभागमा सामान्यदेखि मध्यम वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सामान्यभन्दा उत्तरतिर रहेकाले मौसम अझै सक्रिय छ ।

आज दिउँसो देशका विभिन्न पहाडी भेगहरूमा विशेषगरी वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
र कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश, वाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। वर्षाका कारण पहिरो, बाढी र सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।
























