हेडलाईनव्याससमाचारभानुगण्डकीस्वास्थ्य

सन्दर्भ २ सय १२औं भानु जन्मजयन्ती : आज रक्तदान तथा फलफूल वितरण सम्पन्न

तनहुँ, असार २५ — राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २ सय १२औं जन्मजयन्तीको अवसरमा भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको संयोजनमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ।

सप्ताहअन्तर्गत आज भानु नगरपालिका सेवा प्रवाह कार्यालयमा रक्तदान कार्यक्रम तथा दमौली अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सर्कल भानुभक्त उपशाखाको समन्वय रहेको थियो। कार्यक्रमको उद्घाटन भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले रगत दान गरेर गरेका थिए। कार्यक्रममार्फत १७ पिन्ट रगत संकलन गरिएको जनाइएको छ।

त्यसैगरी आज बिहान दमौली अस्पतालमा रहेका ३५ जना बिरामीलाई फलफूल वितरण गरिएको छ। उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे, लेखा अधिकृत नवराज लौडारी, वडा नं५ का वडा अध्यक्ष नहकुल अधिकारी, स्वास्थ्य शाखा प्रमुख डा. ऐश्वर्य भट्टराई, दमौली अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. परिवर्तन बराल लगायतले संयुक्त रूपमा फलफूल वितरण गरेका थिए।

आदिकवि भानुभक्तको जन्मस्थलले असार २५ देखि २९ गतेसम्म विविध सांस्कृतिक, साहित्यिक तथा सामाजिक कार्यक्रमसहित भानुजयन्ती मनाउन लागेको हो। कार्यक्रमको समापन समारोह असार २९ गते हुनेछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहने बताइएको छ।

समितिले प्रभातफेरी, भानु प्रतिमामा माल्यार्पण, पञ्चकन्याबाट रामायण वाचन, मठ–मन्दिरमा पूजा तथा साँझ दीपावली लगायतका कार्यक्रम तय गरेको छ।

त्यसै दिन श्रद्धाञ्जली सभा, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम समेत हुनेछ। असार २६, २७ र २८ गते भानु नगरपालिका, भन्सार कार्यालय, चुँदी तथा समितिको कार्यालय परिसरमा साहित्यिक तथा बालमैत्री कार्यक्रमहरू सञ्चालन गरिनेछ।

कार्यक्रम अन्तर्गत खुला कविता प्रतियोगिता, चित्रकला, रचनापाठ, झाँकी प्रदर्शन र कविगोष्ठी जस्ता विद्यालयस्तरीय गतिविधिहरू गरिने कार्यकारी अधिकृत कृपाहरि लौडारीले जानकारी दिए। यी कार्यक्रममार्फत बालबालिकामा साहित्यिक चेतना र राष्ट्रिय गौरवको भावना विकास गरिने अपेक्षा गरिएको छ।

समापन समारोहमा भानुभक्तको जीवनी र योगदानमा आधारित झाँकी प्रदर्शनी, कविगोष्ठी, श्रद्धाञ्जली सभा, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button