हेडलाईनव्याससमाचारगण्डकी

भेटेरिनरी अस्पताल तथा कृषि ज्ञान केन्द्र तनहुँको सार्वजनिक सुनुवाई : किसानका गुनासै गुनासा

प्रहार समाचार । तनहुँ, २६ असार २०८२ बिहिवार । आर्थिक वर्ष २०८१/०८२ मा कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रम तथा योजनाहरुको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार तनहुँको दमौलीमा सम्पन्न भएको छ। कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र कृषि ज्ञान केन्द्र तनहुँको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर चुमानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले अध्यक्षता गरेका थिए। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख वासुदेव थापा, कृषि विकास कार्यालय गण्डकी प्रदेशका निर्देशक वासुदेव काफ्ले, जिल्लामा क्रियाशील विभिन्न राजनैतिक दलका प्रतिनिधि, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आर्थिक वर्ष २०८१/०८२ मा कृषि तथा पशु सेवा क्षेत्रका विविध कार्यक्रमहरूको विवरण प्रस्तुत गरे। उनले चैते धान प्रवर्धन, खाद्यान्न वाली उत्पादन प्रवर्धन, मकै बिउ उत्पादन तथा प्रवर्धन, जलवायु मैत्री कृषि प्रविधिको प्रवर्धन, तरकारी वाली प्रवर्धन लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए।

त्यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रविनसन अधिकारीले केन्द्रले पुर्‍याएको सेवाको विवरण प्रस्तुत गर्दै उपलब्धि र चुनौतीबारे जानकारी गराए। कार्यक्रममा सहभागी कृषकहरुले कार्यालयले भेद भाव रहित तरिकाले वास्तविक कृषकहरुलाई उत्पादनका आधारमा अनुदानका कार्यक्रम हरु सञ्चालन गर्नु पर्ने बताएका थिए । नागरिकहरुले दुबै कार्यालयबाट प्राप्त सेवा, त्यसको प्रभाव, कठिनाइ र सुधारका सुझावहरूपनि राखेका थिए।

कार्यक्रमले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायिता अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजक संस्थाहरुले जनाएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button