हेडलाईनव्याससमाचारगण्डकी

आज व्यास अवतरण तथा गुरू पूर्णिमा दिवस

प्रहार समाचार । तनहुँ, २६ असार २०८२ बिहीवार । आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा गुरु पूर्णिमा तथा व्यास जयन्ती विविध कार्यक्रमका बिच मनाइएको छ।

व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको आयोजनामा २८औं श्रीकृष्ण द्वैपायन व्यास अवतरण दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रारम्भ दमौलीस्थित अनशन चौतारीबाट भजन यात्रासँगै भएको थियो, जसले व्यास नगरपालिकाको प्राङ्गणमा पुगेर व्यास ऋषिको शालिकमा पूजा तथा पुष्पाञ्जली अर्पण गरियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला न्यायधिस कमलराज विष्ठ, पूर्व मन्त्री डोबाटे बि. क., व्यास नगर उपप्रमुख उप प्रमुख ईन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, व्यासका अध्येता काशिनाथ न्यौपाने , शान्ति स्वरूपानन्द दामोदर बाबा, श्रीराम कार्की , विश्व वास्तोला लगायतले व्यासको महत्व तथा गुरु पूर्णिमा दिवसको महत्वबारेमा चर्चा गरेका थिए । कार्यक्रम व्यास क्षेत्र शिवपात्याय विकास शेषका अध्यक्ष प्रेमप्रकाश भट्टराईको सभापतित्वम सम्पन्न भएको थियो ।

गुरु पूर्णिमा पर्व वैदिक परम्पराअनुसार गुरुजनप्रति श्रद्धाभाव प्रकट गर्ने दिन हो। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुने भएकाले, अज्ञानको अन्धकार हटाई ज्ञानको प्रकाश दिने व्यक्तिलाई गुरु भनिन्छ भन्ने मान्यता छ। यस दिन विभिन्न विद्यालय र संघ–संस्थाहरूले कार्यक्रम गरी गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ ।

व्यास जयन्तीका अवसरमा वेदव्यासद्वारा रचित १८ पुराण र १८ उपपुराणको स्मरण गरिन्छ। व्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा ग्रन्थहरूको रचना गरेका थिए। महाभारत पनि व्यासले नै रचना गरेका हुन्, जसलाई पाँचौं वेदको रूपमा मानिन्छ ।

दमौलीमा सम्पन्न यस वर्षको गुरु पूर्णिमा तथा व्यास जयन्ती कार्यक्रमले वैदिक परम्पराको संरक्षण र गुरु–शिष्य सम्बन्धको सुदृढीकरणमा योगदान पुर्‍याएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button