हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

पुरोहित समाज तनहुँको अधिवेशनमा धर्म, संस्कृति र सदाचारको संकल्प

प्रहार समाचार । तनहुँ, २५ असार २०८२ बुधवार । वैदिक पुरोहित समाज तनहुँको सातौँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा धर्म, संस्कृति र सदाचारको संकल्प गरिएको छ। व्यास नगरपालिकामा व्यास गुफा परिसरमा भएको उक्त अधिवेशनमा वैदिक धर्म, सनातन संस्कृति र सामाजिक सदाचारका विषयमा बहस र मार्गदर्शन प्रस्तुत गरिएको थियो ।

 

अधिवेशनले पुरोहित वर्गको सामाजिक, बौद्धिक र नैतिक भूमिकालाई नयाँ कोणबाट प्रस्तुत गरेको छ।

कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले वैदिक सनातन हिन्दु धर्मको संरक्षण र संवर्धनसँगै देशमा शान्ति, सुशासन र सामाजिक भाव कायम राख्न पुरोहित वर्गको अग्रणी भूमिका हुने बताए ।

वेदानुयायी प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले ब्राह्मणको आचरण, निष्ठा र मुलधर्मप्रति दृढता आवश्यक रहेको स्पष्ट गर्दै, लोभ, मोह, र प्रभावमा विचलित हुने प्रवृत्तिले ब्राह्मण धर्म नै कलंकित हुने उल्लेख गरे ।

संस्थाका संरक्षक दामोदर बाबा र व्यासका अध्येता काशीनाथ न्यौपानेले ब्राह्मण चरित्र, शुद्ध आचरण र वैदिक मार्गदर्शनलाई जीवनमा आत्मसात् गर्न जोड दिए। उनीहरूले शास्त्रीय विधि अनुसार नित्य कर्म, संध्यावन्दन, वेदपाठ तथा शुद्ध उच्चारणमार्फत बौद्धिक स्तरमा समृद्ध हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा संस्थापक सुदर्शन न्यौपानेले भजन, कीर्तन र संस्कार शिक्षाका माध्यमबाट समाजमा सकारात्मक ऊर्जा फैलाउन पुरोहित वर्गको सक्रियता आवश्यक रहेको बताए ।

अधिवेशनमा ब्राह्मण समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, परोपकार महासंघका अध्यक्ष तारानाथ घिमिरे, व्यास क्षेत्र विकास कोषका अध्यक्ष प्रेम प्रकाश भट्टराई, र ब्राह्मण समाजका पूर्व केन्द्रीय सदस्य डा. लक्ष्मीकान्त चापागाईं लगायतले वैदिक परम्पराको संरक्षणमा पुरोहित समाजको योगदान सराहनीय रहेको बताए।

कार्यक्रमको सहजिकरण पुरोहित समाजका सचिव श्री भद्र न्यौपानेले गरेका थिए भने समापन अध्यक्ष तुलसीराम पौडेलले गरेका थिए । अधिवेशनले आजै नयाँ कार्यसमिति चयन गर्ने छ ।

यस अधिवेशनले वैदिक विचार, शुद्ध आचरण र सामाजिक उत्तरदायित्वका सन्देश सम्प्रेषण गर्दै तनहुँमा वैदिक चेतनाको नयाँ आयाम थाने विश्वास लिइएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button