हेडलाईनसमाचारप्रदेश

देशभर बाढीपहिरोको प्रभाव: धेरै राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

प्रहार समाचार । तनहुँ, २५ असार २०८२ बुधवार । देशभर लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण विभिन्न स्थानका राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशका १० प्रमुख राजमार्गहरू यातायातका लागि पूर्ण रूपमा बन्द भएका छन्।

 

सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, म्याग्दीको दरवाङ सडक, नवलपरासीको पूर्वपश्चिम राजमार्ग, डोल्पाको भेरी करिडोर, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जनाइएको छ। निरन्तरको वर्षाले सडक भासिने, पहिरो खस्ने र नदी कटानका कारण यी सडकहरू ठप्प भएका हुन्।

यसैबीच, अन्य केही सडक खण्ड पनि बाढी र पहिरोले प्रभावित भएका छन् भने आंशिक रूपमा सञ्चालनमा छन्। बनेपा–नाला–भक्तपुर सडक खण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीको सोही खण्ड र रोल्पाको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। पहिरो पन्छाउने र सडक मर्मतको कार्य तीव्र रूपमा भइरहे पनि लगातारको वर्षा र जोखिमका कारण काममा कठिनाइ भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।

सडक अवरुद्ध हुँदा विभिन्न जिल्लामा आवतजावतमा समस्या परेको छ भने एम्बुलेन्स, खाद्य तथा अन्य आपत्कालीन सेवाका सवारी साधनहरू समेत रोकिएका छन्। सडक विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ। सर्वसाधारणलाई आवश्यक नपरी पहिरो प्रभावित क्षेत्रमा यात्रा नगर्न अनुरोध गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button