हेडलाईनसमाचारगण्डकी

लमजुङका चार उत्कृष्ट व्यावसायिक कृषक सम्मानित

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २४ असार २०८२ मङ्लवार । लमजुङको बेशिसहर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि चार जना उत्कृष्ट व्यावसायिक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। विभिन्न क्षेत्रका व्यावसायिक कृषकलाई ‘कृषक’ घोषणा गर्दै उनीहरूलाई सम्मानपत्र, दोसल्ला, टीका र जनही आठ हजार रुपैयाँ नगद प्रदान गरिएको हो

 

सोमबार सम्पन्न कार्यक्रममा मेयर गुमानसिंह अर्याल, उपमेयर पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल र आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर ६ का अध्यक्ष प्रकाश थापाले संयुक्त रूपमा सम्मान गरेका थिए।

सम्मानित कृषकहरूमा तरकारी खेतीतर्फ बेसीशहर–११ बस्नेत गाउँका सीताराम वि.क., मौरीपालनतर्फ बेसीशहर–६ पुमागाउँका यमबहादुर गुरुङ, भैँसीपालनतर्फ बेसीशहर–१० भोटेफाँटका विष्णुमाया अधिकारी, र बंगुरपालनतर्फ बेसीशहर–६ चनौटेका लक्ष्मी कामी रहेका छन्।

नगरपालिकाले हरेक वर्ष उत्कृष्ट कृषक छनोट गरी सम्मान गर्दै आएको र यसबाट कृषकहरूमा प्रोत्साहन, व्यावसायिक कृषि विस्तार र उत्पादन वृद्धिमा टेवा पुग्ने मेयर अर्यालले बताए।

यस्तै, चालु आर्थिक वर्षमा नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत २० जना कृषकलाई २७ हजार ४० रुपैयाँ बराबरको अनुदान वितरण गरेको छ। किसानले बेसीशहरमा स्थापना गरिएको ‘किसान घर’ मा बिक्री गरेको तरकारीको आधारमा प्रति किलो आठ रुपैयाँ दरले अनुदान प्रदान गरिएको हो।

कार्यक्रममा कृषि विकास शाखाका प्रमुख ममता अधिकारीले कार्यक्रमको उद्देश्य र अनुदानको प्रभावका बारेमा जानकारी दिएकी थिइन् भने कार्यक्रमको अध्यक्षता आर्थिक विकास समितिका संयोजक प्रकाश थापाले गरेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button